१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मोदीको शपथ आज, प्रधानमन्त्री दाहालसहित कुन देशका को जाँदैछन्?



काठमाडौं । नरेन्द्र मोदी भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का सांसद मोदी शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। मोदीले आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई निम्तो गरिएको छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो १ बजे नयाँ दिल्लीतर्फ जाने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री मोदीले लोक सभा सदस्य निर्वाचित भएपछि प्रधानमन्त्री दाहालले बधाई दिएका थिए। त्यसबेला भएको फोनवार्तामा पनि शपथग्रहण समारोहमा मोदीले दाहाललाई आमन्त्रण गरेका थिए। मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलगायत नयाँ दिल्ली जाने कार्यक्रम छ।उनीहरू सोमबार स्वदेश फर्किनेछन्।

भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सका अनुसार भारतले ‘नेबरहुड फर्स्ट पोलिसी’ अर्थात् छिमेकीलाई प्राथमिकताको नीति राखेर छिमेकी मुलुकका प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेको हो।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहमद मुइज्जु, पूर्वीअफ्रिकी मुलुक सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्।

मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगुनाथ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई पनि मोदीको शपथ ग्रहण कार्यक्रमका लागि निम्तो गरिएको छ। माल्दिभ्सका राष्ट्रपति मुइज्जु, भुटानका प्रधानमन्त्री तोब्गे र मौरिससका प्रधानमन्त्री जगुनाथ भारत पुगिसकेका छन्। पछिल्लो समय भारत र माल्दिभ्सबीच सम्बन्ध सुमधुर छैन भन्ने चर्चा थियो। राष्ट्रपति मुइज्जु भारत चीन समर्थक भनेर भारतमा चर्चासमेत हुने गरेका थिए।

उनी राष्ट्रपति नियुक्त हुँदा मोदी लक्ष्यदीप पुगेका थिए। त्यसबेला माल्दिभ्सको सट्टामा भारतले लक्ष्यदीप घुमौं भनेर प्रचारसमेत गरिएको  थियो। विपक्षी दल कंग्रेस आईका अध्यक्ष मालिकार्जुन खार्जे पनि शपथ ग्रहण कार्यक्रममा सहभागी हुँदैछन्। मोदीले आफ्नो क्याबिनेटमा २७ देखि ३० मन्त्रीहरू राख्ने तयारी गरेका छन्। 

दुई पटक बहुमतको सरकार बनाएर प्रधानमन्त्री बनेका मोदी यसपालि बिहारका मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू नेतृत्वको तेलेगु देसम पार्टी (टिडिपी) लगायतको साथ लिएर प्रधानमन्त्री बनेका हुन्।

भारतमा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ। भाजपाले उक्त बहुमत ल्याउन नसकेपछि गठबन्धनको सरकार बनाउन लागेको हो। भाजपाले २४० सिट मात्रै जितेको थियो। 

भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) ले २९३ सिट जितेको थियो भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितेको थियो।

प्रकाशित मिति : २७ जेष्ठ २०८१ आइतबार ००:००  १ : ०६ बजे