कपिलबस्तु ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेसँगै सम्भावित मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति रोक्न कपिलवस्तु जिल्लाभर उच्च सतर्कता अपनाइएको छ । बाढी, डुबान र कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज विहिवार जिल्ला विपद् व्यवस्थापन समिति कपिलवस्तुका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको अध्क्षतामा बसेको वैठकले, जिल्लाका १० वटै स्थानीय तह तथा सुरक्षा निकायहरूलाई प्रतिकार्य र उद्धारका लागि चौबीसै घण्टा तयारी अवस्थामा राखिएको बताएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला कार्यालयका प्रमुख, सुरक्षा निकाय, पालिकाका विपद् फोकल पर्सन, राजनीतिक दल र सञ्चारकर्मीहरूसँग आज बैठक बसेर एकीकृत पूर्वतयारी योजना बनाएको छ। विशेष गरी बाणगंगा, सुरई र बेल नदीका तटीय क्षेत्रहरूसहित बाणगंगा, कपिलवस्तु, महाराजगञ्ज, बुद्धभूमि, शिवराज नगरपालिका र यशोधरा एवं विजयनगर गाउँपालिकाका जोखिमयुक्त बस्तीहरूमा सतर्कता बढाइएको छ ।
पूर्वतयारी र जोखिम न्यूनीकरणका सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भने, मौसम विभागको पूर्वसूचनालाई ध्यानमा राख्दै जिल्लाका १० वटै स्थानीय तहलाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापन गर्न निर्देशन दिइएको छ । सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका कमान्ड पोस्टहरूलाई तयारी अवस्थामा राखिएको छ । सबै पालिकाले जोखिमयुक्त क्षेत्रको पहिचान गरी उद्धार, प्रतिकार्य र सूचना प्रवाहको आवश्यक व्यवस्था मिलाइसकेको घिमिरेले बताएका छन् ।
सुरक्षा व्यवस्था र उद्धार टोलीको परिचालनबारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले भने, सम्भावित मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर जिल्लाका सबै सुरक्षा युनिटहरूलाई सतर्क गराई तयारी अवस्थामा राखिएको छ । विपद् व्यवस्थापनका लागि तालिमप्राप्त जनशक्तिलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउदैे उद्धार र राहतलाई प्रभावकारी बनाउन स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग आवश्यक स्रोतसाधनका लागि समन्वय भइरहेको बताएका छन् ।
यसैगरी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले विपद्को समयमा सही र तथ्यपरक सूचना प्रवाहले धेरै क्षति हुनबाट बचाउन सक्ने हुनाले जोखिमयुक्त क्षेत्रका बासिन्दासम्म पूर्वसूचना छिटो र पारदर्शी रूपमा र्पुयाउन सञ्चारक्षेत्र पूर्ण रूपमा सहयोगी भूमिकामा रहने बताएका छन् ।
बैठकले स्थानीय तहहरूलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी जिल्ला प्रशासन कार्यालयमा पेस गर्न, विपद् व्यवस्थापन कोष चुस्त राख्न, स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन तथा जोखिमयुक्त सडक, पुल, कुलो र तटबन्धको पहिचान गरी मर्मतसम्भार गर्न निर्देशन दिएको छ । साथै, युवा, रेडक्रसकर्मी र स्थानीय स्वयंसेवक समेटिएको विपद् व्यवस्थापन स्वयंसेवक टोली गठन गर्ने र जिल्ला एवं स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन प्रणाली विकास गर्ने निर्णयसमेत गरिएको छ ।









प्रतिक्रिया