६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा



एजेन्सी ।
साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।

एनआरजी स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो।

जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरे। लिओनल मेसीको प्रहार भने बाहिरियो।

इक्वेडरका जोन येबोह र जोर्डी काइसिडोले मात्रै पेनाल्टी सुटआउटमा गोल गर्न सके। एन्जल मेना र एलन मिन्डाको प्रहार इमिलियानो मार्टिनेजले रोके।

त्यसअघि खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले एलेक्सिस म्याक एलिस्टरको पासमा गोल गरे। ६२औं मिनेटमा इक्वेडरले खेललाई बराबरीमा ल्याउने मौका पाएको थियो। तर, इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन्।

तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जोन येबोहको पासमा केभिन रोड्रिग्जले गोल गर्दै खेल १–१ को बराबरीमा पु¥याएका थिए।

प्रकाशित मिति : २१ असार २०८१ शुक्रबार ००:००  १० : २० बजे