२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप



पाल्पा ।
रामपुरका खेतबारीमा रहेका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू पिरोलिएका छन् ।

रामपुर नगरपालिका–६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिल्किराको प्रकोपले सताएको दुखेसो गरिन् । ‘काउलीका बोट फस्टाएका छन् तर कीराको प्रकोपले फूल लाग्न पाएका छैनन् । कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ ।’

रामपुर–५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिल्किराले आक्रमण गरेको छ ।

व्यावसायिक उत्पादनमा लागेकी उनी पनि कीराले पिरोलिएकी छन् । उनी भन्छिन्, ‘बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ ।’

झुसिल्किराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए ।

बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उनको भनाइ छ । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८१ बुधबार ००:००  १० : ३७ बजे