२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

गुल्मीमा सुन्तलाका बोट पहेँलो हुने रोगको प्रकोप



काठमाडौं ।
गुल्मीमा पाक्ने बेलामा सुन्तलाका बोट पहेँलो हुने रोगको प्रकोप देखिएको छ । बोटहरु पहेँलो हुने र दानाहरु पनि नपाक्दै पहेँलो भएर झर्ने गरेका कारण किसान चिन्तित बनेका हुन ।

रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका सुन्तलामा यस्तो समस्या बढी देखिएको छ । सुन्तला पाक्ने समयमा अचानक यस्तो समस्या देखिएको रेसुङ्गा नगरपालिका–५ का डिलबहादुर सुनारले गुनासो गर्नुभयो ।

धुर्कोट गाउँपािलका–७ वाग्लाका किसान धनराज पौडेलेको सुन्तला बगैचामा पनि बोट पहेलो हुने रोग देखा परेको छ । उहाँको बगैँचामा एक हजार वटा भन्दा धेरै सुन्तलाका बोटहरु रहेका छन ।

गएको वर्ष चार लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएका पौडेलको बगैँचामा रोगका कारण अहिले एक लाख रुपैयाँको सुन्तला बिक्री गर्न पनि समस्या छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले सुन्तलाका बोटको फेदमा बढी चिसोपना भएकाले रोग देखा पर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न ढुसी नासक विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०८१ बिहिबार ००:००  १० : ४२ बजे