१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

स्थानीय तहको उपनिर्वाचनः ४१ पदका लागि आज मतदान हुँदै



काठमाडौं ।

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन्। निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्।

आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ। मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्नेरगराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति : १६ मंसिर २०८१ आइतबार ००:००  ७ : १५ बजे