४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

रविप्रति प्रधानमन्त्री ओलीको टिप्पणी- देश चलाउन सहकारी ठगे जस्तो हुँदैन



काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन्।

आइतवार झापाको दमकमा दापगाछीस्थित १८ तले दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगे जस्तो नहुने टिप्पणी गरेका हुन्। उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने दावी गरे।

देश चलाउन अरूलाई बुरुक बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो। नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए। उनले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले नयाँ शक्तिबाट देश बन्ने भ्रममा कोही पनि पर्न नहुने आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने‚ ‘यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ। बाँसको टुसोभन्दा छिटो बढ्छ। बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ। अर्को पल्ट हेर्न जाँदा नर्कट बूढो भएर ढलिसकेको हुन्छ। यी नर्कटहरू पुर्लक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन्। देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन। देश चलाउन अरूलाई बुरुकबुरुक उफ्रिएर मुख छोडे जस्तो हुँदैन।’

प्रधानमन्त्री ओलीले झूट, भ्रम फैलाएर अराजकता मचाउनेलाई सरकारले नछोड्ने बताए। उनले लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने दावी गरे।

प्रकाशित मिति : २३ मंसिर २०८१ आइतबार ००:००  ९ : ०३ बजे