२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

वनभोज जङ्गलमा, हात्ती गाउँ-गाउँमा



झापा ।

झापाको बिर्तामोड नगरपालिका ८, गरामनीका पारसप्रकाश पौडेल रातभरि जागै बसेर केराको बगैँचा रुँग्छन्।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, सात लाख रुपैयाँभन्दा बढी लगानी गरेर थालेको व्यावसायिक केरा खेती हात्तीले ध्वस्त पार्न थालेपछि उनको बास केराको बगैँचामै हुने गरेको हो।

उनका अनुसार साँझ परेपछि चाररपाँच वटासम्म हात्ती गाउँ पसेर कृषकले लगाएको बाली नष्ट गर्छन्। ‘पछिल्लो ६-७ वर्षमा राम्रोसँग बाली उठाउन पाएको छैन । धान मकै खेतीका बेला बाली खाने मात्र होइन, माडेर नष्ट गर्ने गरेकाले क्षति बढी हुने गरेको छ ’, उनले भने।

जलथल र घेराबारी क्षेत्रमा रहेको जङ्गलबाट आउने हात्तीले बालीनालीमा क्षति पुर्‍याउने बताए।

१२ पालिकामा मानव-हात्ती द्वन्द्व

झापाका १५ वटा पालिकामध्ये १२ वटामा मानव र हात्तीबिच द्वन्द्व छ । डिभिजन वन कार्यालय झापा डिभिजनल वन अधिकृत मेघराज राईका अनुसार कचनकवल गाउँपालिका, कमल गाउँपालिका, बाह्रदशी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दीबारी गाउँपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिकामा हात्तीको आउजाउ हुन्छ ।

‘गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा हात्ती आएको सुनिँदैन । झापा गाउँपालिकामा मकैको सिजनमा हात्ती आउने हप्तौँसम्म बस्ने र जाने गर्छन् । झापामा सबैतिर नै हात्तीको आउजाउ छ’, उनी भन्छन्।

अधिकृत राईले पछिल्लो पाँच वर्षमा हात्तीको सङ्ख्या तेब्बर भएका कारण गाउँ बस्ने र बालीनालीमा क्षति पुर्‍याउने गरेको बताए । उनले २०७५ मा १० देखि १२ वटा मात्रै हात्ती देखिने गरेको र अहिले सङ्ख्या बढेर ३० वटा पुगेको बताए।

वनभोजले थपियो चुनौती

झापाका विभिन्न सामुदायिक वनले आर्थिक उपार्जनलाई दृष्टिगत गरी जङ्गलभित्र वनभोज स्थल, धार्मिक स्थल र आन्तरिक पर्यटकलाई आकर्षित गर्न पोखरी बनाएर डुङ्गा शयर गर्ने गराएका छन्। मेचीनगर नगरपालिका वडा नं.४, बाहुनडाँगीका वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार जङ्गललाई वनभोज स्थल बनाउने कार्य हात्तीलाई गाउँ पस्ने निम्तो जस्तै भएको छ।

‘वनभोजमा जानेले चाउचाउसहित तयारी खाना खाने, प्लास्टिक त्यहीँ फाल्ने गर्दा हात्तीले त्यही प्लाष्टिकमा लागेको नुन खाने र त्यसको स्वाद खोज्दै गाउँ पसेर हात्तीले कतिपय घुम्ती पसल फुटाएर त्यहाँ भएका खानेकुरा खाने गरेको पनि पाइएको छ । तथापि मानव(हात्ती द्वन्द्वको कारण यो मात्रै होइन।’

उहाँले सीमावर्ती जङ्गलबाट आउने हात्ती नफर्किँदा पनि समस्या भएको बताए। उनका अनुसार दुई वर्षअघि भारतको सीमावर्ती जङ्गली क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्ती अझै फर्किएका छैनन्।

प्रकाशित मिति : १५ माघ २०८१ मंगलबार ००:००  ७ : ५९ बजे