५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

सिद्धबाबामा ‘लघु संग्राहलय’



गुल्मी ।

गुल्मीको एक सामुदायिक विद्यालयमा विद्यार्थीलाई पढाईसँगै परम्परागत रुपमा प्रयोगमा आएका सामग्रीहरुको जानकारी दिने उद्देश्यसहित ‘लघु संग्राहलय’ स्थापना गरिएको छ । यस जिल्लाको सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई नेपाली समाजको कला–संस्कृतिसँगै पुर्खाहरुले प्रयोग गरेका विभिन्न सामग्रीको जानकारी दिन ‘लघु संग्राहलय’ स्थापना गरेको हो ।

मौलिक र परम्परागत सामग्री लोप हुन थालेसँगै यसको संरक्षण गर्नुका साथै विद्यार्थीहरुलाई जानकारी दिन विद्यालयले स्थापना गरेको ‘लघु संग्राहलय’ मा व्यवस्थित रुपमा माना, पाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको, नाम्लो, डाला, फुगो, तराजु, ढक, कुचो, गुन्द्रो, लालटिन, आरी, हाडीँ, मटुलो, प्राचीन पैसाहरु, खुकुरी, सिलौटो, लोहोरो, मादललगायतका दुई दर्जनभन्दा बढी सामग्रीहरु राखिएको छ । घरमा काम नलाग्ने सामग्रीहरु यहाँ संग्राहलयको रुपमा राखिएको हो । धेरै कम लागतमा बढी जानकारी दिने उद्देश्य रहेको बताइएको छ ।

विद्यालयमा संग्राहलय स्थापना भएसँगै विद्यार्थीहरु उत्साहित भएका छन् । संग्रहालयबाट विद्यार्थीहरुलाई नेपाली समाजको कला–संस्कृतिसँगै पुर्खाहरुले प्रयोग गरेका विभिन्न सामग्रीको जानकारी दिन खोजिएको प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो । सामग्री विभिन्न ठाउँ र स्थानीय समुदायबाट सङ्कलन गरिएको हो । संग्रालयबाट विद्यार्थीहरुलाई पुराना वस्तु र प्रविधिसँग पनि परिचित गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ माघ २०८१ शुक्रबार ००:००  ३ : ०० बजे