१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

प्रदेश सरकार नागरिकसँग जोडिन सफलः मुख्यमन्त्री



भैरहवा।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनँंग जोडिन सफल भएको बताउनुभएको हो ।

‘‘विगत सात वर्षमा सङ्घीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महशुस गरेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘लुम्बिनी प्रदेशको आफ्नै प्रशासंनिक संरचना, विकास मोडेल, जनअपेक्षा पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्दछु । स्थापनाको आठौं वार्षिकोत्सव मनाउँदै गर्दा प्रदेश सरकार आम नागरिकहरुको भरोसाको रुपमा स्थापित हुन सफल भएको बताउन पाउँदा हामी उत्साहित छौं ।’’

प्रदेश सरकार नागरिकको विकासप्रतिको तीव्र आकाङ्क्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपना लगायत साझा सरोकारका मुद्धामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको बताउनुभयो । राजनीतिक अस्थितरताको अन्त्य गरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । सोमबार आठौं स्थापना दिवस उत्सवको रुपमा मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ ।

प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूल समारोह आयोजना गर्न लागिएको हो । बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरूसमेत राखिने छन् । प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २१ माघ २०८१ सोमबार ००:००  ८ : ४२ बजे