५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

राज्यमन्त्री बिकद्वारा सामुदायिक वनको निरिक्षण



कपिलवस्तु ।
संघीय वन तथा राज्य मन्त्री रुपा बिकले श्रृङ्गीघाट सामुदायिक वन उपभेक्ता समूहको वन क्षेत्रको अवलोकन गरेकी छिन् । सामुदायिक वनको अवलोकनका क्रममा समूहका अध्यक्ष ठकुरीले वनका अगामी योजनाबारे राज्य मन्त्री बिकलाई अवगत गराएका थिए । राज्य मन्त्री विकले आगामी योजनालाई विशेष चासो लिँदै संघीय वन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

ठकुरीले श्रृङ्गीघाट सामुदायिक वन क्षेत्र डढेलोको उच्च जोखिममा रहेको बताउँदै बाणगंगा नदीको पानीलाई प्रयोग गरी ट्याक्की निर्माण गरी वन क्षेत्रमा पाइपलाईन विस्तार गरी विभिन्न स्थानमा पानीका भल्व मार्फत डढेलो नियन्त्रण गर्ने कार्यक्रम लगायतका अन्य कार्यक्रमहरु सहयोगका लागि राज्यमन्त्री समक्ष आग्रह गरेका थिए ।

राज्यमन्त्री विकले श्रृङ्गीघाट सामुदायिक वनको अवलोकनको उद्देश्य वन स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन भएको बताउँदै डढेलो नियन्त्रण, अनुसन्धान केन्द्र लगायतका सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागिता र वन संरक्षणका लागि आफूमा पनि काम गर्ने हुटहुटी रहेको बताइन । राज्य मन्त्री बिकले कपिलवस्तुको वन, वन व्यवस्थापन र संरक्षणका लागि नयाँ अनुसन्धानहरू हुने स्थान भएको बताउँदै यस्को संरक्षण र सही व्यवस्थापनमा संघीय मन्त्रालयले सहयोग गर्ने बताइन । राज्य मन्त्री बिकले वन क्षेत्रको दिगो व्यवस्थापन र संरक्षण जनताको जीवनस्तर सुधार्न र आर्थिक समृद्धिमा योगदान पुर्याउन सक्ने हुँदा प्रदेश सरकार, संघीय वन मन्त्रालयले सहकार्य गरेर काम गर्ने बताइन ।

निरीक्षणका क्रममा राज्य मन्त्री बिकले बाणगंगा नदीले गरेको नदी कटान क्षेत्रको समेत अवलोकन गरेकी थिइन । राज्यमन्त्री बिकले बालाकुण्ठ धामको दर्शन समेत गरेकी हुन । जहाँ धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थान मानिन्छ । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका विभिन्न अभियानहरु संचालन गरेको सोही अभियान अन्तर्गत आज राज्यमन्त्री विकले सामुदायिक वन क्षेत्रको अवलोकन गरेको बताए । अध्यक्ष ठकुरीले सामुदायिक वनको संरक्षण हाम्रो दायित्व हो, जुन न केवल वातावरणीय सन्तुलन कायम राख्न र हाम्रो आर्थिक र सामाजिक समृद्धिका लागि पनि महत्वपूर्ण भएको बताए ।
सामुदायिक वनकी सचिव कमला सेन (सुष्मा खाँणले) वनको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताउँदै समुदायलाई सही मार्गदर्शनले वनको संरक्षणसँगै आर्थिक समृद्धि र सामाजिक विकास हुने बताइन ।

सामुदायिक वनको लेखा संयोजक गुरुदेव पौडेलले वनको वित्तीय पारदर्शिता र लेखा व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको बताउँदै वनको स्रोतहरूको सदुपयोग सुनिश्चित गर्न सबै मिलेर काम गर्नु पर्ने बताए । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूह विशेष किसिमको सामुदायिक वन हो यसको स्वामित्व र व्यवस्थापन समुदायको हातमा रहेको छ ।
यो वनलाई स्थानीय समुदायले आफ्नै आवश्यकता अनुसार प्रयोग र संरक्षण गर्दै आएका छन् । यही सामुदायिक वनमा पर्ने श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूह बाणगंगा नगरपालिकाका वडाहरु १, ३, ४ र ५ को १४ मौजा क्षेत्रका २०८१ को नविकरणबाट हाल २०३२ घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन् । बाणगंगा नगरपालिका वडा नं। ८ मा पर्ने यस सामुदायिक वनको पूर्वमा बाणगंगा नदी, पश्चिमा भालु खोला उत्तरमा अर्घाखाँचीको सितगंगा नगरपालिका र दक्षिणमा मधुवनधाम पर्दछ ।

वि.सं. २०६६ मा स्थापित ५७० हेक्टर क्षेत्रफल फैलिएको यस सामुदायिक वनले बाणगंगा नगर क्षेत्रको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो योगदान पु¥याएको छ र गरिबीको रेखामुनि रहेका समुदायको जीवनस्तर उकास्न मद्दत गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१ सोमबार ००:००  २ : ०२ बजे