६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

गुल्मीको एक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाण्डौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालीगण्डकी गाउँपालिका–१ मा रहेको देउराली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियारले देउराली माविको व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नगेन्द्रप्रसाद सापकोटा, तत्कालीन प्रधानाध्यापक मित्रलाल पाण्डे, सहायक लेखा प्रेमनारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले शिक्षक छनोटको कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेका भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिएको, नक्कली कागजात बनाई विद्यालयमा अनुपस्थित शिक्षकका नाममा पारिश्रमिक निकासा गराएको आरोपपत्रमा उल्लेख छ ।

नौ जनालाई जनही आठ लाख ८७ हजार आठ सय ८० रुपैयाँ बिगो माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ माघ २०८१ सोमबार ००:००  ६ : २६ बजे