७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय स्वदेश पुगे



एजेन्सी ।

अमेरिकाले आफ्नो देशमा अवैध रूपमा रहेका केही भारतीय आप्रवासीलाई उनीहरूकै देशमा पुर्‍याइदिएको छ ।

भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज आज दिउँसो पञ्जाब प्रान्तको अमृतसरमा रहेको श्री गुरू रामदास जी अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ । विमानमा ७९ पुरुष, २५ महिला र १३ बालबालिका गरी १ सय १७ जना आएका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ११ जना चालक दलका सदस्य रहेको विमानमा ४५ जना अमेरिकी अधिकारी पनि आएका थिए ।

भारत ल्याइएका आप्रवासीहरू पञ्जाब, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेसँगै अमेरिकाले गैरकानूनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा रहेका भारतीय नागरिकको न्यायसङ्गत फिर्तीका लागि तयार रहेको बताउनुभएको थियो ।

अमेरिकाले यसअघि आफ्दो देशमा रहेका अवैध आप्रवासीमध्ये १७ हजार ९ सय ४० जना भारतीयलाई फर्काउने भन्दै सूची सार्वजनिक गरेको थियो । पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा झन्डै ७ लाख २५ हजार कागजविहीन भारतीय आप्रवासी छन् ।

प्रकाशित मिति : २३ माघ २०८१ बुधबार ००:००  ८ : ४३ बजे