२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

चक्रपथ, फोहोरमैला र बुद्धरंगशालालाई गौरवका योजनामा राखेका छौंः मेयर अर्याल



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याालले चक्रपथ, फोहोरमैला प्रशोधन केन्द्र र बुद्धरंगशालालाई गौरवका योजनाका रुपमा राखेर काम भइरहेको बताएका छन्। फोहोरमैला प्रशोधन केन्द्र र बसपार्क निर्माणको लागि नगर जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनको भनाई छ । बिहिबार बाणगङ्गा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ, कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न सार्वजनिक सुनुवाईमा बोल्दै प्रमुख अर्यालले यस्तो बताएका हुन् ।

अर्यालले वर्षेनी नदी कटानको विषय गम्भिर रहेको भन्दै नदी कटान नियन्त्रणका लागि अर्बौ रकमको आवश्यक पर्ने र त्यो नगरको स्रोत साधनले सम्भव नभएको तर्क गरे । यद्यपि नगरले हरेक वर्ष लाखौं रुपैयाँ विनियोजन गरेर कटान नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिए ।
उनले नदी कटानको दिर्घकालीन असरलाई ध्यानमा राखेर नगरले प्रदेश र संघमा पटकपटक बजेट माग गरेको स्मरण गरे । कृषिका लागि पर्याप्त मल नहुनु राष्ट्रिय समस्या रहेको भन्दै माथिबाट आएको मल नै नगरले वितरण गर्दै आएको स्पष्ट पारे ।

उनले भूमि समस्या समाधान आयोग गठन भईसकेकाले अब छिट्टै बाणगङ्गामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थितको काम पहिले कै विन्दुबाट अघि बढ्ने बताए । यस समस्यालाई सधैका लागि अन्त्य गर्न नगरले चाहेको बताए । साथै नगरपालिकाले विकासका क्षेत्रमा थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाको समग्र प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले सञ्चालन गरेका प्रमुख योजनाहरू, हालसम्मका उपलब्धि तथा आगामी दिनमा कार्यान्वयन गरिने योजनाबारे जानकारी गराए ।
कार्यक्रममा स्थानीयवासीहरूले विभिन्न समस्या तथा गुनासाहरू व्यक्त गरे । नगरवासी लक्ष्मण कँडेल र मनोहर योगीले नगरपालिकासँग सम्बन्धित सेवा प्रवाहमा सुधारको माग गरे । त्यस्तै, नारायण भुसालसहित अन्य स्थानीयहरूले पनि नगरपालिकाको कामकारवाहीप्रति आफ्ना प्रश्नहरू राखे ।

कार्यक्रममा पत्रकारहरूप्रति उठेका केही गुनासाहरूको जवाफ नेपाल पत्रकार महासङ्घ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले दिएका थिए । उनले पत्रकारिताले पारदर्शी रूपमा काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै नगरपालिकासँग सहकार्य गर्दै स्थानीय तहको सुशासन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नागरिक प्रतिवेदन पत्रकार भगवती न्यौपानेले प्रस्तुत गरिन् भने बर्हिगमन प्रतिवेदन मोहन बेल्लबासेले प्रस्तुत गरेका थिए । कार्यक्रममा बाणगङ्गा नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्थानीय नागरिक, पत्रकार तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ, कपिलवस्तुका सहसचिव पिताम्बर घिमिरे (हरि)ले गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१ शुक्रबार ००:००  १० : १३ बजे