४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने



भैरहवा ।

लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो ।

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नु भएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको थियो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नु भएको थियो ।

प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला समन्वय समितिको मञ्चमा हुने सभामा करिब ५० हजार जनताको सहभागिता हुने एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो ।

जनसभा अघि घोराहीका चार वटा क्षेत्रबाट विभिन्न संस्कृति झल्कने झाँकी सहितको र्याली निकालिने एमाले दाङका उपाध्यक्ष तथा जनपरिचालन उपसमितिका संयोजक मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१ सोमबार ००:००  ८ : ४९ बजे