४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

माघ महिनामा देशभर गाडी दुर्घटनामा १ सय ९९ जनाको ज्यान गयो



काठमाण्डौ ।

माघ महिनामा गाडी दुर्घटनामा परेर एक सय ९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५ सय ३५ वटा गाडी दुर्घटना हुँदा एक सय ९९ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा एक सय ४७ पुरुष, ३९ महिला, ११ बालक र २ बालिका छन् । माघमा गाडी दुर्घटनामा ५ सय ६० जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

माघ महिनामा सबैभन्दा धेरै २ हजार ४ सय ७४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ९ सय ६२, बस २ सय ५१, टेम्पो २ सय ३५ वटा दुर्घटनामा परेका छन् । २ सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् । यस्तै बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म पनि धेरै दुर्घटना भएका छन् । राति १२ बजेदेखि बिहान ६ बजेसम्म काम दुर्घटना भएका प्रहरीको तथ्याङ्क छ ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, चालकले ध्यान नदिनु, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले माघ महिनामा १ लाख १८ हजार ९ सय ८१ जना चालकलाई कारबाही गरेर ९ करोड ५९ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१ सोमबार ००:००  ३ : ३४ बजे