काठमाडौँ ।
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि तनाव बढेको । बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको छ ।
नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ ।
दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् । नेपाली विद्यार्थी आइतबार राति विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिन गएका थिए । ‘तर कारबाही त परै जाओस्, हाम्रो कुरा पनि सुनिएन,’ कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययनरत एक नेपाली विद्यार्थीले फोनमा कान्तिपुरलाई भने ।
लम्सालको मृत्युको खबर बाहिरिएपछि नेपाली विद्यार्थी प्रदर्शनमा उत्रिएका थि । ‘आइतबार साँझ ४–५ बजे प्रकृतिको आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको थियो । त्यसलगत्तै उनलाई किम्स अस्पताल लगिएको थियो,’ एक नेपाली विद्यार्थीले भने । राति १० बजे प्रदर्शन सुरु भएपछि विद्यार्थीमाथि चरम दमन भएको उनले बताए । ‘सोमबार बिहान सबैलाई छात्रावासबाट निकाल्न थालियो । म खाजा खान मेसतिर जाँदै थिएँ, वार्डेनले तिमीहरू घर फर्कनुपर्छ भने,’ उनले भने, ‘जान नमान्नेलाई सेक्युरिटी गार्डले कुटे ।’
प्रतिक्रिया