नेपालगन्ज ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका चितुवा र बाघले पछिल्लो समय निकुञ्ज वरिपरिको गाउँबस्तीमा पसेर स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको छ।
सोही क्रममा खजुरा गाउँपालिका(६ सिमलघारीकी बालिका लक्ष्मी पुनको चितुवाको आक्रमणमा परेर गत भदौ ३० गते मृत्यु भएको थियो। पुनको मृत्यु भएको सात महिनापछि उनको परिवारलाई लुम्बिनी प्रदेश सरकारले १० लाख रुपियाँ राहत उपलब्ध गराएको छ।
खजुरा गाउँपालिकाको पहलमा प्रदेश सरकारबाट उक्त राहत रकम उपलब्ध गराएर ज्यान गुमाएकी पुनको परिवारलाई प्रदान गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो।
उहाँले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार र वन सचिव मोहनराज काफ्ले लगायतले दस लाख रुपियाँको चेक पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो।
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री र गाउँपालिकाका पदाधिकारीले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेको जनाउँदै अध्यक्ष विकले सो अवसरमा पीडित परिवारलाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको बताउनुभयो।
चितुवाको आक्रमणबाट मृत्यु भएका बालबालिकाका परिवारलाई राहत प्रदान गर्ने कार्यमा स्थानीय सरकारको पहलमा प्रदेश सरकारले तदारुकता देखाएर काम गरेको जनाउँदै पीडित परिवार लगायत स्थानीयले सो अवसरमा आभार व्यक्त गरेका थिए।
प्रतिक्रिया