काठमाडौं ।
नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ ।
सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा सुरु भएको बैठकमा सेनाका सबै विभाग, महानिर्देशनालय, निर्देशनालयसँगै सबै पृतनाका प्रमुखहरुको सहभागिता छ ।
बिहीबारबाट सुरु भएको सम्मेलनमा अहिलेको परिस्थितिमा बदलिंदो सुरक्षा चुनौतिबारे समीक्षा हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उद्घाटन सत्रमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्वको सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको टिप्पणी गरेका छन् ।
उनले भविष्यमा देखा पर्नसक्ने सुरक्षा चुनौतिलाई सामना गर्न नेपाली सेनाले पृतनापति सम्मेलनले समयानुकूल विश्लेषण गर्ने बताए । ‘बदलिँदो परिस्थितिलाई विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुनेछ’, उनले भनेका छन् ।
सम्मेलनको उद्घाटनमा सहभागी रक्षामन्त्री मानबहादुर राईले पनि विश्वको बदलिँदो भू(राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वहरूले नेपालमा पनि कुनै न कुनै रुपमा प्रभाव पार्ने विश्लेषण सुनाए।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख गौरव केसीका अनुसार, नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने बैठकको दौरान सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया