२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा कालोपत्र गर्न शुरु



तनहुँ मुग्लिन ।

पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र शुरु भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का धेरैजसो ठाउँमा कालोपत्र सकिएको लामो समयपछि दमौली बजारमा कालोपत्र शुरु भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उहाँले बताउनुभयो । पूर्वी खण्डमा अहिलेसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किलाेमिटर चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् ।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम झन्डै ६० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

२०२६ मा रेखाङ्कन भएको सडकमा गाडीकाे चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१ शनिबार ००:००  ७ : १९ बजे