२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

शंकरपुर ताल सिँचाई आयोजनाले सयौँ कृषक लाभान्वितः मन्त्री खड्का



घनश्याम भर, कपिलवस्तु ।

कपिलवस्तु‌को विजयनगर गाउँपालिका ४ मा रहेको शंकरपुर तालको निर्माण कार्य सुरु भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मंगलबार शंकरपुर ताल एकिकृत सिँचाई तथा जनस्रोत आयोजनाको शिलान्यास गरेसंगै निर्माण कार्य सुरु भएको हो ।

मन्त्री खड्काले शंकरपुर ताल सिँचाई योजनाले सयौँ कृषक लाभान्वित हुनुको साथै पर्यटकीय क्षेत्रको विकासले आयआर्जनमा टेवा पुग्ने बताएका छन् । पर्यावरणीय हिसाबले वरिपरि जङ्गल भएको हुँदा चराचुरुङ्गी संरक्षणसँगै चराहरुको संख्या पनि बढ्दै जाने उनले बताए । यहाँ होमस्टे सञ्चालनको आवश्यकता देखिएको उनको भनाइ छ ।

मन्त्री खड्काले भनेस “मुलक बजेट खर्च भइरहेको बताउँदै समयमा काम सम्पन्न नहुन्न, काम अधुरो भइरहने, मुभलाइजेशनको पैसा लग्ने, भ्यारिएशन हुने लगायत समस्या भइरहेको छ” । यसले देशको अर्थतन्त्र कमजोर बनाएको बताएको उनले बताए । जनताले सरकारले काम गरेको जस्तो नदेखिने गुनासो आउने गरेको उनले बताए ।

स्थानीय सरकार नजिकको सरकार भएकोले यस योजनाको कामलाई बढी जनप्रतिनिधिले विशेष निगरानी गर्नुपर्नेमा जोड दिए । उनले ठेकेदारका लापरवाहीका कारण देशभरिमा विभिन्न योजना अलपत्र अवस्थामा परेको हुँदा सरकारबाट पुरस्कृत हुने गरि समयमै काम सम्पन्न गर्न आग्रहसमेत गरे ।

यस्तै लुम्बिनी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री सीता कुमारी चौधरीले ताल, पोखरीको संरक्षण गर्न आवश्यकता देखिएको बताएकी छन् । उनले संघीय र प्रदेश सरकारले जलाशययुक्त तालतलैयालाई योजनाबद्ध रुपमा अगाडी सार्न सके ७० प्रतिशत किसान सिँचाईबाट लाभान्वित हुन सक्ने बताइन् । सिँचाईलाई मध्यनजर गर्दै ताललाई थप विकास गर्दै मन्त्री चौधरीले जोड दिइन् ।

सांसद सुरेन्द्रराज आचार्यले भएका ताल पोखरीलाई मर्मत सम्भार गरि संरक्षण गर्नुपर्ने बताए । यसैबाट अधितम कृषक लाभान्वित हुने हुँदा सरकारले ध्यान पुर्‍याउन जरुरी रहेको उनले बताए ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शंकरपुर ताल निर्माण गर्ने सपना पूरा भएको बताए । उनले अविरल वर्षाका कारण तालको बाँध फुटेपछि तालको गौचरणामा परिणत भएको बताउँदै हजारौँ किसान तालको पानीको सिँचाईले लाभान्वित हुने बताए ।

नहर निर्माणको काम भइसकेकोले गड्डाघाटको पानी शंकरपुर तालमा आउने भएको हुँदा कृषकलाई सिँचाई समस्या नहुने उनको भनाइ छ । यस सिँचाई योजनाबाट ७ हेक्टर क्षेत्रमा सिँचाई हुने र १७ सय परिवार सिँचाईबाट प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष थापाको भनाइ छ ।

ताल निर्माणको ठेक्का बाबुल लुम्बिनी जेभी कम्पनीले पाएको छ । १२ करोडको लागतमा पहिलो चरणको ताल निर्माणको काम सुरु भएको ठेकेदार अबुसमा मुसलमानले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१ बुधबार ००:००  ६ : ४७ बजे