मायादेवी अनलाइन, जितपुर ।
दोस्रो संस्करणको तिलौराकोट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ ।
बाणगंगाको बुद्ध रंगशालामा आज (बुधबार) सम्पन्न भएको फाइनलमा थ्रीस्टार एफसीलाई १−० ले पराजित गर्दै मच्छिन्द्र दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन देवेन्द्र तामाङले निर्णायक गोल गरे । देवेन्द्रले २३औं मिनेटमा गोल गरेका हुन् । एक गोल गर्दै मच्छिन्द्रलाई च्याम्पियन बनाएका देवेन्द्र नै फाईनल खेलको नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
च्याम्पियन बनेसंगै मच्छिन्द्रले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टारले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा यस प्रतियोगिताको बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको थियो ।
प्रतिक्रिया