११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले २०८२ साल वैशाख २३ गते अर्को तारिख दिएको छ ।

बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेक बहसपछि एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पहिलो तारेख बुझ्न आज रुपन्देही जिल्ला अदालत पुगेका थिए ।

अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अर्को तारेख २३ वैशाखलाई दिइएको जानकारी दिए । उनले सोमबार रविको तारेख परेको र सोही तारिख बुझ्न अदालतमा उपस्थित भएको पनि बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।

सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् ।

लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१ सोमबार ००:००  ४ : ४९ बजे