७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

लुम्बिनीमा प्रभावकारी बन्दै ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान



दाङ। 

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार, हालसम्म करिब एक करोड रुपियाँ बराबरको स्रोत सङ्कलन भइसकेको छ भने सात हजार पाँच सय भन्दा बढी पूर्व विद्यार्थी अभियानमा संलग्न भएका छन्।

गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गर्नुभएको थियो। सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीको ज्ञान, सीप, र लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो। १७ वटा विद्यालयबाट एकैसाथ अभियान प्रारम्भ गरिएको थियो।

मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक भएकाले अभियान थालिएको र अहिले प्रभावकारी हुँदै गएको बताउनुभयो  । 

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले अभियानले अनावश्यक खर्च रोक्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्ने बताउनुभयो।

‘अभियानले पूर्व विद्यार्थीलाई उत्साहित बनाएको छ। उनीहरू नियमित रूपमा विद्यालयमा पुगेर योगदान दिन थालेका छन्’, उहाँले भन्नुभयो, ‘विद्यालयका कार्यक्रम रचनात्मक र प्रभावकारी हुनुपर्छ, जसमा विद्यालयले विशेष ध्यान दिनुपर्छ।’ गोरखबपत्रबाट

प्रकाशित मिति : २७ फाल्गुन २०८१ मंगलबार ००:००  ६ : १९ बजे