८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त



काठमाण्डौ ।

नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ ।

हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख हुनुहुन्थ्यो ।

यसअघिका महानिरीक्षक वसन्त कुँवरले हिजो अवकाश पाएपछि थापालाई नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका कुँवरलाई हिजो नै गृह मन्त्रालयले बिदाइ गरेको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका गर्नुभएको थियो । उहाँ २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ मा एसएसपी, २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा एआईजी बन्नुभएको थियो ।

नयाँ आईजीपीका थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ पनि प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल आउँदो भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ७ : ०४ बजे