१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

शुद्धोधन माविको स्वर्ण महोत्सव, १५ लाख बढीको आय-व्यय सार्वजनिक



बाबुराम रायमाझी, कपिलबस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.९ मा अवस्थित श्री शुद्धोधन जनजीवन माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औं वर्षगाँठको अवसरमा स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोहमार्फत महोत्सवको समापनसँगै आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरिएको छ।

कार्यक्रममा आर्थिक समितिद्वारा झण्डै १५ लाख ४८ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरिएको हो। आर्थिक समितिका सहसंयोजक तिलकराम पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै महोत्सवको आयोजनामा कूल १३ लाख २२ हजार ३ सय रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। उहाँका अनुसार कुल आयमध्ये २ लाख २५ हजार ८ सय ३६ रुपैयाँ बचत भएको छ, जसलाई विद्यालयको आगामी शैक्षिक तथा भौतिक पूर्वाधार सुधारमा उपयोग गरिने योजना छ।

लेखा समितिका संयोजक कुन्तामणि भुसालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुका साथै पारदर्शिता र दीर्घकालीन योजना निर्माणमा केन्द्रित सुझावहरू समेत राख्नुभयो।

स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रममा वडा नं। ९ का अध्यक्ष कमल पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुँदै विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजका सरोकारवालाहरूको समन्वय र सहकार्य अनिवार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रमको अध्यक्षता आर्थिक समितिका संयोजक भुवनेश्वर पौडेलले गर्नुभएको थियो भने संचालन विद्यालयका शिक्षक नेत्र खनालले गर्नुभएको थियो। विद्यालयकी प्रधानाध्यापक अनिता कडेंलले स्वागत मन्तव्य दिंदै विद्यालयको सफलताको यात्रा समुदायको सक्रिय साथ र विश्वासमा आधारित रहेको बताउँदै सबै सहयोगी हातप्रति आभार व्यक्त गर्नुभयो।

समारोहमा समाजसेवी, बुद्धिजीवी, शिक्षक, पत्रकार, अभिभावक लगायत स्थानीय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालय प्रशासनले महोत्सव सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने विभिन्न संघसंस्था र व्यक्तित्वहरूलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो।

विद्यालयको ५० वर्षे गौरवमय यात्रालाई स्मरण गर्दै, यो महोत्सवले स्थानीय स्तरमै शैक्षिक क्षेत्रको उन्नयन र सहकार्यको सशक्त सन्देश दिएको उपस्थित सहभागीहरूले बताएका थिए।

प्रकाशित मिति : १७ बैशाख २०८२ बुधबार ००:००  ८ : ३७ बजे