बाबुराम रायमाझी,कपिलवस्तु ।
अखिल नेपाल किसान महासंघको ७४औं स्थापना दिवस तथा विषयगत संगठनहरुको संयुक्त दोस्रो जिल्ला अधिवेशन कपिलवस्तुमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा किसान आन्दोलनलाई सशक्त बनाउने र कृषकहरूको हकअधिकारको संरक्षण गर्ने विषयमा जोड दिइएको छ । कार्यक्रममा अखिल नेपाल किसान महासंघकी केन्द्रिय महासचिव सरिता भुषालले प्रमुख आतिथिको रूपमा सम्बोधन गर्दै किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मूल्य निर्धारण नहुनु कृषकहरूको मुख्य समस्या भएको बताउनु भयो । उहाले सरकारले कृषकको उत्पादनलाई प्राथमिकता दिँदै मूल्य निर्धारणमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख वक्ता नेकपा एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले कृषिमा वैज्ञानिक यन्त्र र प्रविधिको प्रयोग बढाउनु जरुरी रहेको उल्लेख गर्दै राज्यले किसानका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने जोड दिएको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री आरती पौडेलले कृषिलाई आधार मानेर प्रदेश विकास गर्न सकिने धारणा राख्दै व्यवसायीक रुपमै कृषि क्षेत्रमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । यस्तै, किसान महासंघका स्थायी कमिटी सदस्य ताराजन घिमिरेले भूमिहीन तथा साना किसानको पक्षमा नीतिगत पैरवी आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला सचिवालय सदस्य तथा बाणगंगा नगर उपप्रमुख रिता कुमारी चौधरी लगायतले समेत कृषकहरूको समस्यालाई सम्बोधन गर्न पार्टी र संगठन दुवै प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रम अखिल नेपाल किसान महासंघ कपिलवस्तुका अध्यक्ष रेशम बहादुर केसीको अध्यक्षता, सचिव काशिराम भट्टराईको सञ्चालन तथा सदस्य कृष्ण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।
कार्यक्रमको अवसरमा कृषि क्षेत्रमा नवप्रवर्तन र उत्पादनमा योगदान पुर्याएका ७ जना उत्कृष्ट कृषक व्यवसायीलाई सम्मान समेत गरिएको थियो । यस अवसरमा उपस्थित वक्ताहरूले किसानको अधिकार, उत्पादनको बजार सुनिश्चितता र कृषि नीति सुधारका विषयमा गहन छलफल गरेका थिए। कार्यक्रमले किसान आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै समापन भएको थियो ।
यसैविच अखिल नेपाल किसान महासंघ अन्तरगतका विषयगत संगठनहरुको संयुक्त अधिवेशन पनि सम्पन्नभएको छ । जसमा मौरी पालन किसान सघंको अध्यक्षमा बुद्धिराम न्यौपाने सर्वसम्मत रुपमा चयन हुनु भएको छ । यस्तै खाद्य बाली उत्पादन किसान सघंको अध्यक्षमा शान्ता खनाल, दुग्ध उत्पादक किसान संघको अध्यक्षमा राम बहादुर रायमाझी, पशुपालक किसान सघंको अध्यक्षमा तिलकराम कंडेल, पन्छि पालक किसान सघंको अध्यक्षमा नारायण पन्थी सर्वसम्मत रुपमा चयन हुनु भएको हो । यसैगरी ढाकाराम अधिकारी कृषि बन किसान सघं,महेन्द्र ज्ञवाली तरकारी उत्पादक किसान सघं, हुमकला विक भुमिसुधार किसान सघं, कमला सुनार महिला किसान सघं र इश्वरी पौडेल फलफुल उत्पादन किसान संघको अध्यक्षमा चयन हुनुभएको छ ।
प्रतिक्रिया