२ असार २०८२, सोमबार | Mon Jun 16 2025

पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन: घनश्याम भुसाल



बुटवल ।

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर अख्तियारले दाबी गरेजस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको भुसालले प्रस्ट पारे । अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको भावनाले अगाडि बढाएको उनको आरोप थियो ।

आफ्ना विरोधीलाई ८४ सालभित्र सकाउने सिलसिलामा अध्यक्ष नेपालमाथि बदला स्वरूप मुद्दा चलाइएको उनले जिकिर गरे । भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्ष नेपालमाथि पनि त्यही नियति दोहोरिएको बताए । उनले वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल एजेन्डा हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२ शनिबार ००:००  ४ : ३८ बजे