३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

प्रेस चौतारी कपिलवस्तुको बैठक : कार्ययोजना पारित



शितगंगा ।

प्रेस चौतारी कपिलवस्तुको तेस्रो नियमित बैठक अर्घाखाँचीमा सम्पन्न भएको छ । शुक्रबार अर्घाखाँचीको शितगंगा नगरपालिका−११ मा महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको जिल्ला सचिव सन्जिव गहतराजले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष बाबुराम रायमाझीले भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उक्त बाषिर्क कार्ययोजना प्रदेश समितीसंग समन्वय गरी निर्माण गरी सर्वसम्मत रुपमा पारित भएको उहाँले जानकारी दिनुभयो ।

सो क्रममा अध्यक्ष रायमाझीले सक्रिय पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको नयाँ सदस्यताका दिलाउनका लागि प्रेस चौतारीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रेस चौतारी सदैव श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रिय लेखा समितिका अध्यक्ष अर्जुन श्रेष्ठले विगतको पत्रकारिताको अवस्थालाई स्मरण गर्दै अहिले थप खोजमूलक समाचारहरु लेख्ने दिशातर्फ चौतारीका सदस्यहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी पत्रकार महासंघको निर्वाचनको तयारीका लागि आजैबाट जुट्नुपर्ने बताउनुभयो ।

चौतारीले अन्य पत्रकार संगठनभन्दा पृथक भएको उदाहरण प्रस्तुत गर्दै आएको बताउँदै आगामी दिनमा एकतावद्ध भएर थप शसक्त रुपमा अघि बढ्न आग्रह गर्नुभयो ।

बैठकका प्रमुख वक्ता नेकपा एमाले कपिलवस्तुका जिल्ला कमिटी सचिव सिवी गहतराजले पार्टीका गतिविधिलाई प्राथमिकता दिएर प्रभावकारी रुपमा प्रचारप्रसारका गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको समय सामाजिक संजालको समय भएकाले चौतारीका पत्रकारहरुले विवेकपूर्ण तवरले सदुपयोग गरि पार्टीका गतिविधिलाई प्राथमिकता दिएर प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाई छ । उहाँले नेतृत्वप्रतिको चौतर्फी हमलालाई परास्त गर्न सबै एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पार्वती पाण्डेले चौतारीलाई जिल्लामा थप सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रेस चौतारी नेपालले यस बर्षलाई प्रशिक्षण बर्षका रुपमा अघि सारेको भन्दै त्यसलाई जिल्लाले समेत कार्यान्वय गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारीले ८ औं अधिवेशनपछिको वर्तमान कार्यसमितिले सक्रियतापूर्वक आफ्ना गतिविधिलाई संचालन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले प्रदेशसंग सहकार्य गर्दै जिल्ला अघि बढेर कपिलवस्तुलाई उदाहरणीय शाखाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि प्रदेश हरेक तवरले सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२ आइतबार ००:००  ९ : ०५ बजे