बागलुङ ।
२०७४ सालअघि बागलुङमा भजन समूह गठन थिएनन्। गाउँमा परम्परागतरूपमा पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो। लोकभजन र चुट्का लोप हुन थालेपछि नयाँ पुस्ता संरक्षणमा लागेका छन्।
२०७४ देखि गठन थालिएको भजन समिति जिल्लाभर ४७ वटा पुगेका जिल्लास्तरीय लोकभजन चुट्का समितिले जनाएको छ।
शुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको थियो। २०७८ मा जिल्ला भजन समिति गठन भएपछि भजनको गतिविधि बढेको हो। जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेका जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर केसीले जानकारी दिए।
जिल्लास्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठमन्दिरअनुसारका समूह गठन गर्ने, आपसी सहयोग बढाउने, वाद्यवादनका सामग्री खरिद गर्ने, अनुभव आदानप्रदान गर्ने र व्यावसायिक रूपमा भजन गाउन थालिएको उनले जानकारी दिए।
‘भजनको धेरै विधा र ताल छन्, अहिले औपचारिक मेला महोत्सवमा भजनकीर्तन गर्ने र भजनको लयमा नाटक देखाउने गरिएको छ’, केसीले भने, ‘सनातन हिन्दूधर्म, पूर्वीय दर्शनमा आधारित संस्कार र संकृतिका रूपमा रहेको लोकभजन संरक्षणका लागि यहाँका युवा सक्रिय छन् भने भजन प्रेमीले सहयोग गरिरहेका छन्, अहिले वाद्यवादनका सामग्री सहयोगबाट जुटाइएको छ, भजनलाई संस्थागत गरेपछि पुस्तान्तरणमा सहयोग पुग्नेछ।’
२०७६ सालमा कालिका भगवती गुठीले लोकभजनको संरक्षण तथा पुस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। उनका अनुसार कालिका मन्दिर भजन समूहले बिहान भजन तथा बेलुका आरती भजन नियमित रूपमा गाउँदै आएको छ भने अन्यत्रको पूजाआजामा भजन गाउनका लागि समूहलाई खटाउँदै आएको छ।
विभिन्न मठमन्दिर, चौरासी पूजा र व्रतबन्धमा भजन गाउन समूह सक्रिय रूपमा लाग्ने गरेका छन्। भजन संरक्षण, प्रशिक्षण तथा प्रवर्द्धन सहयोग पुग्न थालेको छ। धार्मिक पर्यटकलाई लोकभजन चुट्काप्रति पछिल्लो समय आकर्षण बढिरहेको छ। प्रतिष्ठानको अगुवाइमा पाँच लाख रुपैयाँ बराबरको ध्वनियन्त्र र वाद्यवादनका सामग्री सङ्कलन भएको अगुवा भजनकर्ता दुर्गाबहादुर आचार्यले जानकारी दिए। रासस
प्रतिक्रिया