२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

तीन शिशुकी आमाको उपचारमा सहयोग जुट्दै



वाणगंगा, कपिलवस्तु ।
वाणगंगा नगरपालिका–८ मधुवन निवासी बिना कडेलको जटिल स्वास्थ्य अवस्थाका कारण उनका परिवार अहिले संकटमा परेका छन्। उपचारको लागि आर्थिक अभाव भएपछि अहिले विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग जुटाउने क्रम तीव्र बनाएका छन्।

गत चैत्र १७ गते काठमाडौंको मेडिसिटी अस्पतालमा शल्यक्रियामार्फत तीन शिशुको जन्म दिएपछि बिना कडेललाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। लाखौँ रुपैयाँ खर्च भइसकेको भए पनि अझै थप उपचार आवश्यक भएको श्रीमान् युवराज कडेलले जानकारी दिनुभयो।

तीन नवजात शिशुको स्याहार र आमाको उपचार सँगसँगै गर्नुपर्ने परिस्थितिले कडेल परिवार आर्थिक संकटमा परेको छ। यस्तो अवस्थामा आमाको जीवन रक्षा र नवजात शिशुहरूको संरक्षणका लागि सहयोगको सार्वजनिक अपिल गरिएको थियो।

बिना कडेलकी नन्द गीता अर्यालद्वारा सामाजिक सञ्जालमार्फत गरिएको सहयोगको अपिलपछि स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको छ। त्यसक्रममा दुवईमा लामो समयदेखि कार्यरत समाजसेवी केशव भट्टराईले व्यक्तिगत रूपमा आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ।

भट्टराई हाल दुवईमा रहेर नेपालका विभिन्न स्थानमा मानव सेवा कार्यमा सक्रिय हुनुहुन्छ। उहाँ सैनामैना सेवा समाजका वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ। यसअघि पनि कपिलवस्तुका टंक रेग्मीको उपचारमा र वाणगंगा–८ ढोडेकोल निवासी मञ्जु भट्टराईलाई आर्थिक सहायता प्रदान गरेर मानवीयता देखाउनुभएको थियो।

भट्टराईले देखाउँदै आएको निरन्तर सहानुभूति र सहयोग अहिले कडेल परिवारको लागि ठूलो सहारा बनेको छ। उहाँजस्तै अरु सहयोगदाताहरू पनि सहयोगमा अघि सरेका छन्। स्थानीय समुदाय, छिमेकी, आफन्त र विभिन्न स्थानबाट आर्थिक संकलन भइरहेको छ। बुल्गेरिया कमल भुसाल, डेनमार्कबाट राज खरेलले पनि सहयाेग गरेका छन् ।

कडेल परिवारको तर्फबाट हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अझै पनि उपचारका लागि सहयोग आवश्यक भएकोले इच्छुक व्यक्ति, संघसंस्था तथा समाजसेवीहरूलाई सहयोग गर्न सार्वजनिक अपिल गरिएको छ।

प्रकाशित मिति : १५ असार २०८२ आइतबार ००:००  १० : ०६ बजे