२३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

छत्रदेवको आवधिक शिक्षा योजना तयार : गुणस्तरीय शिक्षातर्फको ऐतिहासिक फड्को



कपिलवस्तु ।

गुणस्तरीय, आधुनिक र समावेशी शिक्षा प्रणाली निर्माणतर्फ अग्रसर हुँदै छत्रदेव गाउँपालिकाले पाँच वर्षे आवधिक शिक्षा योजना तयार गरेको छ। “गुणस्तरीय शिक्षा सबैका लागि” भन्ने मूल नारासहित तयार गरिएको यो योजना शैक्षिक रूपान्तरणको दिशामा ऐतिहासिक फड्कोका रूपमा लिइएको छ।

आर्थिक वर्ष २०८१।८२ देखि २०८५।८६ सम्म लागू हुने योजनाले शिक्षा क्षेत्रमा व्यवहारिक, प्रविधिमैत्री, जीवन उपयोगी र सिपमूलक शिक्षालाई प्राथमिकता दिएको छ। प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसार यही योजनाको आधारमा अब गाउँपालिकाको वार्षिक नीति, कार्यक्रम र बजेट निर्माण गरिनेछ।

पालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले यसलाई शैक्षिक क्षेत्रको दीर्घकालीन रुपान्तरणको मार्गदर्शक दस्तावेजका रूपमा ब्याख्या गर्दै भने, “यो योजना छत्रदेवको शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउने युगान्तकारी कदम बन्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु।”

शिक्षा योजना निर्माण कार्यदलका सदस्य प्रकाशमणि घिमिरेले योजना तयार पार्दा सबलता, कमजोरी, अवसर र चुनौतीको (SWOT) विश्लेषणमार्फत व्यवहारिक र कार्यान्वयनयोग्य कार्ययोजना निर्माण गरिएको जानकारी दिए। “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम मानव स्रोत विकासमा टेवा पुर्‍याउने भरपर्दो आधारशिला हो यो योजना,” उनले बताए।

शिक्षा शाखा प्रमुख तुलसीराम न्यौपानेले शिक्षकहरूलाई योजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै भने, “यो योजना समग्र शैक्षिक संरचनाको रूपान्तरणतर्फ एक ठोस प्रयास हो।”

उपाध्यक्ष मनी पन्थीले सबै प्रकारका बालबालिकाको पहुँच सुनिश्चित गर्न लक्षित योजना भएको उल्लेख गर्दै भनिन्, “समावेशी र गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा यो योजना निर्णायक बन्नेछ।”

योजना निर्माणमा प्राविधिक सहयोग पुर्‍याएकी गीता अर्यालले शिक्षामा परिवर्तन केवल नीति निर्माणले होइन, त्यसको इमानदार कार्यान्वयनबाट सम्भव हुने उल्लेख गर्दै छत्रदेवको प्रयास प्रेरणादायी भएको बताइन्। गाउँ शिक्षा योजना निर्माण समितिको अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, सदस्यहरुमा प्रकाशमणि घिमिरे, कृष्ण प्रसाद पौडेल, जीवन कुमार श्रेष्ठ, पशुपती आचार्य, मेनका भुसाल, धनिश्वर पाण्डे , गिता अर्याल र सदस्य सचिव शिक्षा अधिकृत तुल्सीराम न्यौपाने रहेको कार्यदलले जिम्मेवारी पुरा गरेको छ ।

योजना अनुसार गाउँपालिकाका सबै विद्यालयहरूमा प्रविधिमैत्री पूर्वाधार विकास, बालमैत्री वातावरण सुनिश्चित, नैतिक मूल्यमा आधारित शिक्षण, जीवन उपयोगी सीप हस्तान्तरण, समावेशी पहुँचको प्रवर्द्धन र सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत गुणात्मक सुधार गरिनेछ। छत्रदेव गाउँपालिकाको यस किसिमको दूरदृष्टिपूर्ण कदमले शिक्षाको गुणस्तर सुधारको माध्यमबाट सामाजिक, आर्थिक आवस्था मजबुत, साक्षरता, सामाजिक रुपान्तरणको क्षेत्रमा प्रगति हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २५ असार २०८२ बुधबार ००:००  ७ : ३१ बजे