काठमाडौँ ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ पुनः रोकिएको छ। प्रदेशप्रमुख बिरामी परेको कारण देखाउँदै मन्त्रीहरूको शपथ रोकिएको हो।
यसअघि प्रदेश प्रमुख कार्यालयले बुधबार कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीको शपथ ग्रहण दिउँसो दिउँसो १ बजेका लागि तय भएको जनाएको थियो। बिहीबार बिहान पुनः विज्ञप्ति निकालेर कार्यालयले शपथको कार्यक्रम अनिश्चितकालका लागि रोकिएको जनाएको छ।
विज्ञप्तिमा प्रदेशप्रमुख स्वास्थ्यमा अकस्मात समस्या आई उपचारका लागि काठमाडौँ प्रस्थान गरेको उल्लेख छ।
मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए।
यसबीचमा मुख्यमन्त्री बहादुर सिंह लामाले काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन्। बुधबार नै भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
बुधबार नै हुने भनिएको मन्त्रीहरूको शपथ ग्रहण रोकिएको थियो। कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो। त्यसलगत्तै मन्त्रीहरूको शपथ बिहीबार दिउँसोका लागि तय गरिएको थियो।
उनले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री बनाएका थिए।







प्रतिक्रिया