१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दुवईमा ‘सैनामैना समाजको तीज धमाका २०२५’ भव्यताका साथ सम्पन्न



कपिलवस्तु — ‘बिदेशमा पहिचान, समृद्ध सैनामैना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सैनामैना सेवा समाज युएई द्वारा आयोजित ‘तीज धमाका २०२५’ कार्यक्रम आइतबार बरदुबईमा भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनए एनसिसीका कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना, विशिष्ट अतिथि एनआरएनए युएईका अध्यक्ष विकास शाही, नेपाली समाज युएईका अध्यक्ष राम मुक्तान, लुम्बिनी प्रदेश सेवा समाजका अध्यक्ष नारायण प्रसाद अधिकारी, अन्य संघसंस्थाका प्रमुख, पत्रकार, सहयोगी निकाय, व्यक्ति तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सैनामैना सेवा समाज युएईका अध्यक्ष बिष्णु प्रसाद पन्थीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभयो। उहाँले कार्यक्रमलाई भव्य, सभ्य र सन्देशमूलक बनाउन सबैको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

सैनामैना सेवा समाज युएईले यस कार्यक्रममार्फत असहाय तथा विपन्न विद्यार्थीहरूका लागि अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग संकलन गरेको वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार, विगतका तीज कार्यक्रमहरूभन्दा फरक र प्रभावकारी ढंगले यो वर्षको कार्यक्रम सम्पन्न गरिएको छ। ‘तीज धमाका २०२५’ को टाइटल स्पोन्सर यसपटक पनि ओसम भिनी इन्टरनेशनल रहेको छ, जसले विगत तीन वर्षदेखि निरन्तर साथ दिँदै आएको छ।

कार्यक्रम संयोजक युबराज भट्टराई, उद्घोषक तथा महासचिव सुरेन्द्र परियार, साथै संस्थाका सम्पूर्ण पदाधिकारीहरूप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने प्रायोजक, सह–प्रायोजक, मिडिया पार्टनर तथा स्वयंसेवीहरू सबैलाई हार्दिक धन्यवाद दिइएको छ।

कार्यक्रममा नेपालबाट राष्ट्रिय लोक दोहोरी गायक खुमन अधिकारी र गायिका मञ्जु भट्टराईको विशेष प्रस्तुति रह्यो भने युएईस्थित नेपाली कलाकारहरूको समेत उत्साहजनक सहभागीता रहेको थियो। कलाकारहरूलाई स्वागत, सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमको व्यवस्थापन विभिन्न विधागत साझेदार, सह–प्रायोजक तथा मिडिया पार्टनरहरूसँग सहकार्यमा गरिएको थियो। मायादेवी अनलाइन डटकम लगायतका अन्य आधिकारिक मिडियाहरू कार्यक्रमका मिडिया पार्टनर थिए।

प्रकाशित मिति : १९ श्रावण २०८२ सोमबार ००:००  ७ : ४४ बजे