काठमाण्डौ ।
कर्णाली राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध छन् । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा कालीकोटको गगनेखोला र बिहानीमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाडाँचक्र नगरपालिका–५ बिहानीमा हिजो परेको पानीले पहिरो झरेपछि सडक बन्द छ । अहिले पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
यस्तै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पनि अवरुद्ध छ । हिजोको ठूलो वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरको बाग्लुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिनुभयो ।
करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् । सदरमुकामसँग दक्षिण बाग्लुङको सीधा यातायात विच्छेद भएको छ ।
पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बाग्लुङदेखि बुटवल, भैरहवा र सुनौली जाने गाडी रोकिएका छन् ।
अहिले पहिरो पन्छाउन थालिएको र दिउँसोसम्म खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।







प्रतिक्रिया