काठमाण्डौ ।
कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको ज्यान गएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको छ ।
अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यले जानकारी दिनुभयो । कुवेतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालीसहित २३ जना विदेशी श्रमिकको ज्यान गएको जनाएको छ ।
मिथानोलयुक्त रक्सी खाएका कारण एक सय ६० जना श्रमिक बिरामी परेका छन् । प्रारम्भिक अनुसन्धानकाक्रममा रक्सीमा मेथानोल नामको रसायन पाइएको छ । दूतावासले ज्यान गुमाएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको समन्वय थालिसकेको जनाएको छ ।
शव पठाउन केही दिन लाग्नेछ । कुवेतमा रोजगारीका लागि पुगेका झन्डै एक लाख ६० हजार नेपाली छन् । कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ ।







प्रतिक्रिया