२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

बालबालिकाको ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन’ स्वर्णप्राशन थोपा अभियान



काठमाण्डौ ।
मधेश प्रदेशका जिल्लासहित २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट ५ वर्षसम्मका बालबालिकालाई आज स्वर्णविन्दु प्राशन खुवाइएको छ । मधेश प्रदेशका पर्सा, धनुषा, सर्लाहीसहित २१ जिल्लाका २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशन खुवाइएको हो ।

बालबालिकाको शारीरिक मानसिक वृद्धि विकासका लागि र शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न पुष्य नक्षत्रका दिन आज स्वर्णप्राशन खुवाइएको वैकल्पिक चिकित्सा विभागले जनाएको छ । यो आर्थिक वर्षसँगै देशभरका २१ जिल्लाका २५ ठाउँबाट शुरू गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रम आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी काम भइरहेको विभागले जनाएको छ ।

यो कार्यक्रम २१ जिल्लामा लागू गर्नुअघि चालू आर्थिक वर्षमा ३ वटा जिल्ला– दाङ, चितवन र पर्सामा नमूना कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो । ती बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएकाले यो कार्यक्रम देशव्यापी सञ्चालन गर्ने लक्ष्यका साथ यो वर्षदेखि लागू भएको हो ।

अब फेरि कहिले खुवाउने ?

हरेक महिनाको पुष्य नक्षत्रका दिन सरकारले स्वर्णविन्दु प्राशन खुवाउनेछ । बालबालिकालाई फेरि पनि स्वर्णविन्दु प्राशन खुवाउन अबको २८ दिनमा नजिकको आयुर्वेद अस्पतालमा लान वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा। श्यामबाबु यादवले आग्रह गर्नुभएको छ । आयुर्वेद शास्त्र अनुसार बिहानको समयमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

स्वर्णप्राशन के हो ?

झन्डै ५ हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा वर्णन गरिए अनुसार सुनको भष्मलाई घ्यु र महमा मिसाएर बनाएको लेहलाई थोपा स्वरूप खुवाउने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्त्व हो । मह र घिउ समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भए पनि महको दोब्बर घिउको मात्रा मिलाएर खाँदा आयुर्वेद अनुसार पनि स्वस्थकर हुने निमित्त महानिर्देशक यादवले जानकारी दिनुभयो ।

स्वर्णविन्दु प्राशन नेपालका लागि नयाँ नाम हैन । नेपालको आयुर्वेद चिकित्सामा यो औषधि राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको यादवले जानकारी दिनुभयो । परम्परागत रूपमा प्रयोग हुँदै आएको स्वर्णविन्दु प्राशन नेपाल, भारतलगायतका अन्य देशहरूले पनि प्रयोग गरेर वैज्ञानिक पुष्टिसमेत भइसकेको छ ।

स्वर्णविन्दु प्राशनमा सुन पनि मिसाइएको हो ?

स्वर्णविन्दु प्राशनमा सुन नै खुवाउने नभइकन सुनबाट बनेको सानो अंशमात्र हुने तर त्यसमा मह र घिउ मिसाएर बनाइएको निमित्त महानिर्देशक यादवले जानकारी दिनुभयो । सुनको भष्म एकदमै सूक्ष्म मात्रामा रहेको र यसको एक थोपा खुवाउने भएकाले यसको नाम नै स्वर्णविन्दु प्राशन भएको हो । आधुनिक रासायनिक परीक्षणमा स्वर्णभष्ममा सुन धातुकै स्वरूपमा भेटिने र कणको आकार ३० न्यानोमिटर जति हुने देखिएको विभिन्न वैज्ञानिक शोधपत्रहरूले जनाएका छन् । १ न्यानोमिटर भनेको १ मिटरको १ अर्बौं भाग हो ।

कसले खान हुँदैन ?

६ महिनामुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने पनि विभागले जनाएको छ । बालबालिकालाई स्वर्णप्राशन खाने दिन ज्वरो, रुघाखोकी, झाडापखाला, निमोनियालगायतका समस्या देखिएमा वा बिरामी भएमा अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन पनि डा। यादव सुझाव दिनुहुन्छ । सुनको भष्मबाट यो पोषक तत्त्व बन्ने भएकोले यो पोषक खानेकुराका लागि महँगो पर्ने भए पनि बृहत् उत्पादन गर्दा न्यून बजेटले पुग्ने उहाँले बताउनुभयो ।

बालबालिकालाई सानैमा यो पोषक तत्त्व खुवाएमा पछि गएर स्वस्थ शरीर बन्ने भएकाले यो कार्यक्रम समावेश गरिएको डा। यादवको दाबी छ । यो कार्यक्रमले रोग लाग्नुभन्दा पहिला नै प्रतिरक्षा प्रणाली बलियो बनाउने हुनाले निरोगी नेपाल अभियानलाई सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो । साथै बालबालिकालाई स्वर्णप्राशन निर्धक्क भएर खुवाउन पनि सबै अभिभावकलाई डा। यादवले आग्रह गर्नुभएको छ ।

कुन–कुन अस्पतालबाट स्वर्णविन्दु प्राशन खुवाउन सकिन्छ रु

त्रि.वि. आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर काठमाण्डौ

आयुर्वेद चिकित्सालय, नरदेवी काठमाण्डौ

राष्ट्रिय आयुर्वेद पञ्चकर्म योग सेवा केन्द्र, बूढानीलकण्ठ काठमाण्डौ

गण्डकी आयुर्वेद अस्पताल, पोखरा कास्की

धौलागिरि आयुर्वेद अस्पताल, बाग्लुङ

प्रादेशिक आयुर्वेद अस्पताल, बिजौरी दाङ

प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी कैलाली

प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर झापा

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, पर्सा

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, धनुषा

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सर्लाही

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाण्डौ

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सुर्खेत

जिल्ला आयुर्वेद चिकित्सालय, मोरङ

लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल

राप्ती आयुर्वेद चिकित्सालय, दाङ

बर्दिया आयुर्वेद चिकित्सालय, गुलरिया बर्दिया

आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख

आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला

प्रकाशित मिति : ५ भदौ २०८२ बिहिबार ००:००  ८ : २६ बजे