२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

किसानलाई फेरि मलकै चिन्ता



काठमाडौँ ।
धान रोपेर गोड्ने वेला भइसक्दा पनि रोपाइँमै व्यस्त किसानलाई मलको चिन्ता थपिएको छ।

विशेषगरी मधेशका जिल्लाहरूमा किसानले पर्याप्त पानी नपर्दा योपटक ढिला गरी रोपाइँ गरेका छन्। ब्याडमा छिप्पिएको बीउ पनि रोपेर फलाई खाने आशा किसानलाई छ तर उनीहरूलाई मलको चिन्ताले सताउन थालेको छ।

सिँचाइ सुविधा भएका ठाउँका किसानले समयमै धान रोप्न पाए पनि अहिले हाल्नुपर्ने मलको जोहो गर्न नसकेको गुनासो गरेका छन्। मागभन्दा झण्डै आधा कम मल आयात हुने गरेको छ, त्यसमा पनि मल वितरणमा अनियमितता हुँदा साना किसानले सहजै मल पाउन नसकेको गुनासो गर्दै आएका छन्।

वर्षेनि अर्बौं रुपैयाँको मल आयात गर्दा पनि किसानको माग अनुसार उपलब्ध गराउन नसकेको अवस्थामा स्वदेशमै मल कारखाना स्थापनाको चर्चा पनि धेरै हुन थालेको छ। गत वर्षहरूमा साढे चार लाखको हाराहारीमा मल भित्र्याउने गरिएकोमा यो वर्ष ६ लाख मेट्रिक टन अनुदानको रासायनिक मल ल्याउने जनाएको छ। यसका लागि २८ अर्ब ८२ करोड बजेट छुट्याइएको छ।

विवरणमा मल

सरकारले छुट्याएको बजेटअनुसार कृषि तथा सामग्री कम्पनी लिमिटेड (अनुदानको मलको ७० प्रतिशत) र साल्ट ट्रेडिङ (३० प्रतिशत) हिस्सा मल अन्य देशबाट खरिद गर्दै आएका छन्।

दुवैले गत साउनदेखि गत आर्थिक वर्षको मार्गस्थ परिमाण समेत गरी ७५ हजार टन बढी मल भित्र्याएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए अनुसार साउन १ गतेदेखि भदौ ५ गतेसम्म कृषि सामग्री संस्थान ले ४६ हजार ४९६ र साल्ट ट्रेडिङले २८ हजार ९७१ टन मल ल्याएका छन्। यो अवधिमा युरिया ४५ हजार ४८७, डीएपी २९ हजार ९८० गरी कुल ७५ लाख ४६८ मेट्रिक टन मल भित्रिएको छ।

चालू आवमा ३ लाख १७ हजार ५ सय मेट्रिक टन मल टेण्डर भइसकेको छ तर मधेशका केही किसानले मल नपाएर छटपटिनुपरेको गुनासो गर्न थालेका छन्।सबैभन्दा धेरै मल खपत हुने वर्षे सिजनमै मलको अभाव हुने गरेको छ। सरकारसँग अहिले ५४ हजार ५०५ मेट्रिक टनमात्र मल मौज्दात रहेको छ।

८ हजार ८० टन युरिया, ८० हजार ५४३ टन डीएपी गरी कुल ८८ हजार ६२३ मेट्रिक टन मल आयातको क्रममा रहेको मन्त्रालयले जनाएको छ। एक महिनामा गत आवको बाँकी मौज्दात समेत गरी ६५ हजार ९१४ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ६ भदौ २०८२ शुक्रबार ००:००  ७ : १५ बजे