चितवन ।
थप छ हजारभन्दा धेरै पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । लम्पी स्किनको सङ्क्रमण फेरि बढ्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर खोप अभियान सञ्चालन गरिएको थियो ।
पशु सेवा कार्यालयकी सूचना अधिकारी डा। सविना मिश्रका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार सात सय ३३, रत्ननगर नगरपालिकाका एक हजार एक सय ९०, खैरहनी नगरपालिकाका एक हजार छ सय १४ पशुचौपायालाई खोप लगाइएको छ ।
त्यसैगरी कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपाया गरी छ हजार छ सय ६६ पशुचौपायालाई खोप लगाइएको हो । पशु सेवा कार्यालय चितवनले अभियानअघि चालू आर्थिक वर्षमा १२ हजार एक सय डोज खोप वितरण गरिसकेको जनाएको छ ।
सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र अहिले सङ्क्रमण भएका पशु चौपायालाई खोप लगाइएको छैन । चितवनमा अहिलेसम्म एक हजार एक सय १६ गाईगोरु र भैँसीमा रोग देखिएको र ती सङ्क्रमितमध्ये ४५ वटा गाईगोरु मरेका छन् ।







प्रतिक्रिया