१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

रुपन्देही–३ उपनिर्वाचनः तीन दलले टुङ्ग्याए उम्मेदवार, ठुला दल छलफलमा



काठमाडौँ ।

अगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनप्रति राजनीतिक दलहरूको ध्यान बिस्तारै बढ्न थालेको छ । २०७९ सालको निर्वाचनमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए । तर उनको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागको हो ।
उपनिर्वाचन मिति नजिकिएसँगै दलहरू उक्त क्षेत्र आफ्नो कब्जामा पार्न आन्तरिक रणनीतिमा जुटेका हुन् । त्यसका लागि केही दलले तालमेल गर्ने तयारी गरेका छन् भने केहीले एकल उम्मेदवारका लागि बलियो उम्मेदवार खोजिरहेका छन् ।

यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा नेपाल र जनमत लगायतका दलले उम्मेदवार नै तय गरिसकेका छन् भने राप्रपाले उम्मेदवार छनोट प्रक्रिया मात्र सुरु गरेको छ ।

क्जष्खबm ऋझभलत
तर, ठुला भनिएका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलले उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरे पनि नाम सार्वजनिक गरिसकेका छैनन् । एक हिसाबले साना दलले उम्मेदवार धमाधम घोषणा गरिरहँदा ठुला दल मौन देखिन्छन् ।

रास्वपा, राप्रपा नेपाल र जनमत अगाडि
अहिलेसम्म रुपन्देही ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल र जनमतले उम्मेदवार भेट्टाइसकेका छन् । रास्वपाले प्राइमरी इलेक्सनमार्फत डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्यूरोलोजीमा एमडी गरेका थापा वरिष्ठ न्यूरोलोजिस्ट भएपनि दुईवटा विवाहका कारण विवादित बनेका छन् । रुपन्देही–३ मा उम्मेदवार बन्नका लागि रास्वपाबाट थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्रीले आवेदन दिएपनि थापा छानिएका थिए ।

यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार बनाउने भएको छ । राप्रपा नेपाल लुम्बिनी प्रदेशले जिल्लाबाट सिफारिस भएका ३ जनामध्ये थापालाई सिफारिस गरेपछि उनी नै उम्मेदवार हुने सो पार्टीले जनाएको छ । उम्मेदवारका लागि सिफारिस थापा राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष हुन् ।

यस्तै अर्को दल सीके राउत नेतृत्वको जनमतले पनि आफ्नो उम्मेदवार टुङ्ग्याएको छ । जनमतले धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरी रुपन्देहीको सियारी गाउँपालिका–२ निवासी हुन् । गत २०७९ को निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । उनी केही साता पहिला मात्र पार्टी प्रवेश गरेका थिए । अघिल्लो निर्वाचनमा उनले प्रमुख दलसरह प्रतिस्पर्धी मत प्राप्त गरेका थिए । रुपन्देहीमा नेकपा एकीकृत समाजवादी, संघीय लोकतान्त्रिक मोर्चा, नाउपा लगायतले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

के गर्दैछन् कांग्रेस, एमाले र माओवादी ?
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको जिल्लासमेत भनेर चिनिने रुपन्देहीमा नेपाली कांग्रेसले अहिलेसम्म उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया नै सुरु गरेको छैन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पार्टीको केन्द्रले उम्मेदवारका विषयमा कुनै परिपत्र गरिनसकेकाले कुनै प्रक्रिया नै सुरु नगरेको बताउँछन् । ‘पार्टीले अहिलेसम्म कुनै परिपत्र गरिसकेको छैन’, उनले रातोपाटीसँग भने, ‘केन्द्रबाट पत्र नआउँदासम्म प्रक्रिया सुरु हुने कुरा भएन । अब केही दिनमा पत्र आउँछ अनि प्रक्रिया सुरु हुन्छ ।’ यद्यपि उपनिर्वाचन र वस्तुगत अवस्था बुझ्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा दुई पटक रुपन्देही–३ पुगेर फिल्ड स्टडी गरिसकेका छन् ।

दोस्रो ठुलो दल नेकपा एमालेले रुपन्देही ३ को उम्मेदवारका लागि चार जनाको नाम सिफारिस गरेको छ । तर ती नामहरू सार्वजनिक गरिसकेको छैन । नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले केन्द्रले निर्णय नगर्दासम्म यही उम्मेदवार भनेर भन्न नसक्ने बताए । रुपन्देहीका एमाले नेताहरूका अनुसार एमालेले खिमलाल भट्टराई, शशी पौडेल, यज्ञजित साह, हरि अधिकारीको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको छ ।

एमाले उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेलको गृहजिल्ला समेत रहेको रुपन्देहीमा केही दिनअघिमात्र पौडेल उक्त क्षेत्र पुगेर अन्य पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गराएका थिए । एमालेले यो क्षेत्रमा भट्टराईलाई नै उम्मेदवार बनाउने लगभग निश्चित जस्तै रहेको नेताहरूको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले पनि यो क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाई नसकेको र अध्ययनकै क्रममा रहेको बताएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसीले अहिले अध्ययनकै क्रममा रहेको भन्दै दुई चार दिनभित्र उम्मेदवार सिफारिस गर्ने तयारी भएको बताए ।

‘हामी केही दिनभित्रै केन्द्रमा नाम सिफारिस गर्छौ’, उनले भने, ‘अहिले चर्चामा आएका नामहरू नै सिफारिसमा पर्ने बताए । माओवादीबाट सोनिया यादव, मनिष जोशी, वीरबहादुर रोकालगायतको नाम उम्मेदवारका लागि चर्चामा छन् ।

अध्यक्ष जिसीले उपनिर्वाचनमा तालमेल गर्ने नीति पार्टीको नरहेको बताए । ‘हामी तालमेल गर्दैनौ, एक्लै लड्छौ । तर पार्टी केन्द्रले निर्णय गरेको खण्डमा मान्नुको विकल्प छैन,’ जिसीको भनाइ छ । जिल्लाले नाम सिफारिस गरेर केन्द्रले अनुमोदन गरेपछि यो क्षेत्रमा केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज चक्रपाणि खनाल र प्रदेश अध्यक्ष सुदर्शन बराल फिल्डमा खट्ने तयारीमा रहेका छन् ।

रास्वपा शैलीमा राप्रपा
रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले उपनिर्वाचनको उम्मेदवार छनोट आन्तरिक निर्वाचनमार्फत गर्ने तयारी गरेको छ । राप्रपा संसदीय समिति बैठकले उपनिर्वाचनको उम्मेदवार छान्न आन्तरिक निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको भनाइ छ ।

‘राप्रपा नवीन कार्ययोजनाको मोडलअनुसार यसपटक पार्टीले नवीन अभ्यासको रूपमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको छ,’ श्रेष्ठको भनाइ छ ।

सो पार्टीले रुपन्देही–३ को प्रतिनिधि सभा, प्रदेश सभा तथा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही–३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही–३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाऊ कार्यपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूमार्फत मतदान गरेर उम्मेदवार तय गर्ने तयारी गरेको छ ।

त्यस्तै २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्य र २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरूले मतदान गरेर उम्मेदवार छनोट गर्नेछन् । रास्वपाले पनि आन्तरिक निर्वाचन प्रणालीमार्फत उम्मेदवार छनोट गरेको थियो । –रातोपाटीबाट

प्रकाशित मिति : १९ भदौ २०८२ बिहिबार ००:००  १२ : ४२ बजे