१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

जलवायु परिवर्तनले विश्वव्यापी बाढी र खडेरी बढ्दै



एजेन्सी ।

संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै बाढी र खडेरी चरम रूपमा बढिरहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) ले आज सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा हिमनदी पग्लिनु, खडेरी, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्रलाई झन् अप्रत्याशित बनाएको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार गएको वर्ष इतिहासकै सबैभन्दा तातो थियो । यसले दक्षिण अमेरिकाको उत्तरी भाग, अमेजन बेसिन र दक्षिणी अफ्रिकामा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो ।

डब्लूएमओले लगातार छैटौं वर्ष विश्व नदी बेसिनहरूमा स्पष्ट असन्तुलन देखिएको जनाएको छ । हिमनदी पग्लिँदा गएको वर्ष समुद्री सतह १.२ मिलिमिटरले बढेको र तटीय क्षेत्रका लाखौँ मानिस बाढी जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ । डब्लूएमओले विश्वभर जलस्रोतको अनुगमन र तथ्याङ्क साझेदारी अझै सशक्त बनाउन आह्वान गरेको छ । 

प्रकाशित मिति : २ आश्विन २०८२ बिहिबार ००:००  ६ : ५६ बजे