१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मुग्लिन–नारायणगढ सडकमा ठूलाे पहिराे, तत्काल नखुल्ने



काठमाण्डौ ।
मुग्लिन–नारायणगढ सडक आज दिउँसोदेखि फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै ठूलो सुक्खा पहिरो खसेको छ ।

आवतजावत दिउँसो १ बजेदेखि नै दुईतर्फी नै बन्द भएको र बेलुका ५ बजेतिर ठूलो पहिरो झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर ढुङ्गासहित पहिरो झरिरहेका कारण तत्काल पहिरो हटाउने सम्भावना छैन ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसोको पहिरो ठूलो थिएन तर अर्को ठूलो पहिरो थपिएको छ । आजका लागि पहिरो हटाउन र बाटो खुलाउन सक्ने अवस्था नभएको र अब थप निर्णय गरेपछि मात्रै भन्न सकिने आचार्यले बताउनुभयो ।

तुइनखोलामा यसअघि शुक्रवार बेलुकाको पहिरो झन्डै ४६ घण्टापछि पन्छाएर आइतवार दिउँसो एकतर्फी सडक खुलेको थियो । हिजो सोमवार दुईतर्फी नै बाटो खुलेकोमा बेलाबेला सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्ने क्रम रोकिएको छैन । यो सडक जोखिमपूर्ण छ ।

डिभिजन कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । मुग्लिन–नारायणघाटको विकल्पमा नौबीसे–दामन–हेटौँडा र कालीगण्डकी करिडोरको मुग्लिन–भीमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८२ मंगलबार ००:००  ६ : ४८ बजे