काठमाण्डौ ।
दशैंको मुख्य दिनहरु सुरु भइसक्दा पनि देशभर बर्षा र बदली भइरहेको छ । दशैंमा घमाइलो दिन हुने गरेकोमा यस वर्ष आज फुलपातीका दिन पनि देशका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको हो । काठमाण्डौ उपत्यका सहितका धेरै ठाउँमा गएरातीदेखि नै पानी परिरहेको छ ।
देशका कतिपय ठाउँमा अत्यधिक बर्षा समेत भएको छ । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार रूकुमपश्चिमको बाफीकोटमा पछिल्लो १२ घन्टामा एक सय ४६ दशलमव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा ८३ दशमलव ४, कास्कीको लामापाटनमा ६० मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली भई कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेर स्थानीय वायूको प्रभाव रहेको छ ।
यसपालीको दशैंभर नै बदली तथा वर्षाको संभावना छ । जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन निकालेर अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ । विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।







प्रतिक्रिया