काठमाण्डौ ।
यसपालि दशैँको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।
गएको वर्षको असोजको जस्तै वर्षा हुने गरी प्रणाली विकास भइरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा प्रणाली विकास भइरहेकोले भोलिदेखि हल्का, मध्यम हुँदै विजयादशमीको बेलुकादेखि पूर्वी नेपालमा मुसल्धारे वर्षाको सम्भावना छ । यो प्रणालीको असर तीन/चार दिनसम्म देखिने सम्भावना छ ।
यस्तै जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पनि दशैंको टीकाको भोलिपल्टदेखि मुसल्धारे वर्षा गराउने गरी प्रणाली विकास भइरहेको जानकारी गराउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उप्रेतीले असोज १८ गतेअघि पनि ठाउँठाउँमा वर्षाको सम्भावना रहेको र १८ गतेदेखि पूर्वी नेपाल हुँदै वर्षाको अत्यधिक सम्भावना रहेको उल्लेख गर्नुभएको छ ।
भारतको मौसम विभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङ्गाल, बिहारमा अत्यधिक वर्षाको चेतावनी जारी गरिसकेको छ । नेपालमा भने असोजको १७ गते रातिदेखि कोशी प्रदेशबाट प्रवेश गरी असोज १९/२० गतेसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखिएकोउप्रेतीले जानकारी दिनुभयो ।
दशैँमा घर गएकाहरु फर्कने समय भएकोले फर्कनुअघि मौसम र बाटोको अवस्थाबारेमा जानकारी लिन मौसमविद्को सुझाव छ । यस्तै धानलगायतका बाली भित्राउने समय भएकोले १७ गतेदेखि ४/५ दिन बाली नभित्राउन मौसमविद्को सुझाव छ ।







प्रतिक्रिया