काठमाण्डौ ।
सरकारले चाडपर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरङग विभाग नियमित सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । विजया दशमीको समयमा पनि सेवाहरु नियमित गर्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । स्वास्थ्य संस्थाहरुमा कुनैपनि अत्यावश्यक सेवामा असर नपरोस् भनेर मातहतका अस्पतालहरुलाई नियमित सञ्चालनमा रहन भनेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा आपत्कालिन मेडिकल टोली, एम्बुलेन्स सेवा र एम्बुलेन्सहरुको नेटवर्किङ निरन्तर रहनुपर्नेछ ।
जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई अत्यावश्यक पर्नसक्ने भएकाले जेन जी क्लिनिक पनि नियमित सञ्चालन रहने उहाले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा घाइते भएका मध्ये अहिले अस्पतालमा ३७ जनाको उपचार चलिरहेको छ । उनीहरु मध्ये एक जनाको विराटनगरमा र बाँकीको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि आएका २ हजार ३ सय १६ जनामध्ये हिजोसम्म २ हजार २ सय ३० जना घर फर्किइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । घर फर्किएका मध्ये धेरैको नियमित फलोअपमा आउनुपर्ने अबस्था छ ।
उपत्यकाका राष्ट्रिय ट्रमा सेन्टरमा १२ जना, टिचिङ अस्पतालमा ८ जना,त्रिविको काठमाण्डौ मेडिकल कलेजमा ७ जना उपचाररत छन् । यसैगरी सिभिल अस्पताल र पाटन अस्पतालमा दुई दुई जना, किर्तिपुर अस्पतालमा तीन जना तथा नेपाल प्रहरी,बि एण्ड बि र नोवल मेडिकल कलेज विराटनगरमा एक एक जनाको उपचार भइरहेका छन् । साथै आन्दोलनका क्रममा अस्पताल पुगेर मृत्यु हुनेको संख्या ४९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया