१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए



सुनसरी ।
अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड तीन लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० वटा ढोका खोलिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान आठ बजे नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान सात बजे नदीको जलबहाव मापन गर्दा दुई लाख ७१ हजार तीन सय १० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे थियो । हिजो बेलुका आठ बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो ।

गएको भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । अस्ति र हिजो लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । त्यही अनुसार अहिले कोशी ब्यारेजमा तीन वटा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२ आइतबार ००:००  ११ : ०१ बजे