१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

यी राजमार्ग सञ्चालनमा आए, केही अझै अवरुद्ध !



काठमाडौं ।
तीन दिनको लगातारको वर्षाले अवरुद्ध राजमार्गहरू खुलाउने क्रम जारी रहेको छ। सडक विभागका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ सडक पूर्णरुपमा सञ्चालनमा आएको छ।

यसैगरी सिद्धार्थ राजमार्ग, कालीगण्डकी कोरिडोर(डेधगाउँदेखि गैडाकोट) धरान–धनकुटा सडक पनि पुरै खुलेको छ। त्रिभुवन राजमार्ग, लेघुवाघाट–भोजपुर सडक, हिले पाख्रिबास, लेगुवा सडक एकतर्फी सञ्चालनमा रहेका छ्। हेटौँडा–काठमाडौं जोड्ने दुई सडक हेटौँडा–कुलेखानी–फाखेल–सडक एक तर्फी सञ्चालनमा रहेको छ।

यसैगरी हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको छ। हेटौँडा–काठमाडौं जोड्ने फर्पिङ भैसेँ सडक सिस्नेरी बजारमा नदीले सडक काटे पछि अवरुद्ध भएको छ। सो सडक खुलाउन भने केही समय लाग्ने भएको छ। यस्तै, सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ।

कान्ति लोकपथअन्तर्गत घट्टे पक्खामा पहिरो पन्छाउने क्रम चलिरहेकोले सडक सञ्चालनमा आउन सकेका छैनन्। यसैगरी हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मेची राजमार्ग भने अवरुद्ध नै छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वको मेची राजमार्गको माई खोलामा सडक सञ्चालनका लागि ३र४ दिन समय लाग्ने बताएको छ। जोरकालासदेखि माई खोलासम्म सडक नबिग्रिए पनि बाढीले माई खोलामा बगाएको कारण समय लाग्ने भएको हो। राजमार्गको बिब्ल्याँटेमा सडक मर्मतका लागि दुइवटा मेसिन परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

बिब्ल्याँटेबाट राक्सेसम्म दुईतर्फी रुपमै बाटो बन्द छ भने साखेजुङमा पुवाखोलानजिकै सडक बगेको छ। राक्सेदेखि सुकेटारसम्मको सडक भने बिग्रिएको छैन। काभ्रेको रोशी खोलाको बाढीले राजमार्गको चौकीडाँडादेखि नेपालथोकखण्डमा १७ ठाउँमा साढे चार किलोमिटर सडक बगाएको छ। बिपी राजमार्ग ठप्प भएपछि पूर्वबाट आउने गाडीलाई पुष्पलाल मार्ग भएर काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०८२ सोमबार ००:००  ३ : १८ बजे