काठमाडौँ ।
तिहारको बिदा हुनु अघिल्लो दिनसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ । सरकार तथा निर्वाचन आयोगले यथाशक्य छिटो मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।
निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो । त्यसयता २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका छन् । त्यसमध्ये ४३ हजार १ सय ६५ पुरुष र २७ हजार २ सय ४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । अनुमान गरिएजस्तो नामावली संकलनमा उत्साहजनक सहभगिता नदेखिएको उनले उल्लेख गरे ।
सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । त्यसअनुसार आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा दर्ता हुन आह्वान गरेकी छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले सरकारले निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी अघि बढाइरहेको भन्दै सबैलाई आफ्नो मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानको अधिकारबाट वञ्चित नरहन आग्रह गरेका छन् । ‘मतदाता नामावलीमा छुटेकाहरूका लागि कानुनमै संशोधन गरेर विशेष व्यवस्था गरिएको छ । यो अवसर उपयोग गर्न चुक्नु भएन,’ उनले भने, ‘नाम दर्ता गराउन, सच्याउन वा एक ठाउँबाट अर्को ठाउँमा नामावली सार्न ३० कात्तिकसम्मको समय छ ।’
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछि नयाँ निर्वाचनको घोषणा गरिएको छ । नयाँ निर्वाचनको घोषणा हुँदै गर्दा ठूलो संख्यामा युवाको नाम मतदाता नामावलीमा नरहेको आकलन गरेर कानुनमा संशोधन गरेर विशेष व्यवस्था गरिएको उनले बताए । देशैभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ताको काम भइरहेकाले आफूलाई पायक पर्ने कार्यालय पुगेर नामावली दर्ताको प्रक्रिया पूरा गर्न भण्डारीले आग्रह गरे ।
मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित व्यक्तिको नागरिकता भने हुनुपर्छ । १८ वर्ष उमेर पुगेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँछन् । अनलाइन प्रक्रियामार्फत आवेदन दिने सुविधा आयोगले प्रदान गरेको छ । आयोगको वेबसाइट वा नागरिक एपमा रहेको आयोगको लिंकमार्फत आफ्नो व्यक्तिगत विवरणहरू भरिसकेपछि निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउनुपर्छ ।
देशभित्र जो जहाँ भए पनि त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने सुविधा दिइएको प्रमुख आयुक्त भण्डारीले बताए । मतदाता नामावली संकलन कार्यलाई आयोगले विशेष महत्त्व र प्राथमिकता दिएर बढाएको उनले भनेका छन् । अनलाइनमा व्यक्तिगत विवरण भरिसकेपछि आफू बसोबास गरिरहेको जिल्लाको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउन सकिने सुविधा छ । यसैका लागि आफ्नो गृह जिल्ला नै पुग्नुपर्ने बाध्यता नरहेको भण्डारीले बताए ।
निर्धारित मितिसम्म संकलन भएका नाममाथि दाबी विरोध लिन आयोगले त्यसलाई सम्बन्धित स्थानीय तहहरूमा पठाउनेछ । दाबी विरोधको प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम मतदाता नामावलीमा अहिले संकलित हुने नामहरू चढाइनेछ । निर्वाचनका लागि पहिलो र महत्त्वपूर्ण काममा मतदाता नामावलीको तयारी पर्छ । निर्वाचनको तयारीमा जुटेको आयोगले त्यसलाई दुरुस्त पार्ने कार्य गरिरहेको छ । नामावलीलाई शुद्ध र वास्तविक बनाएर अन्तिम मतदाता नामावली प्रकाशनको कार्यतालिका आयोगले राखेको छ ।
आयोगका अनुसार गत असार मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० छन् । त्यसमा महिला मतदाता ८९ लाख १६ हजार ५ सय २, पुरुष मतदाता ९२ लाख ५१ हजार ५ सय ४१ र अन्य मतदाता १ सय ८७ छन् । अहिले दर्ता भइरहेका नाम थपिएपछि अन्तिम मतदाता नामावाली र संख्या तय हुनेछ । २०७९ को निर्वाचनको समयमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७७ मतदाता कायम थिए ।
मतदाता नामावलीमा दर्ता रहेका व्यक्तिहरूले आफ्नो नामावलीमा रहेका त्रुटि पनि ३० कात्तिकसम्म सच्याउन पाउँछन् । त्रुटि सच्याउने वा एक ठाउँबाट अर्को स्थानमा नामावली सार्ने कार्य पनि यस अवधिमा गर्न पाउने आयोगका सूचना अधिकारी घिमिरेले बताए । नामावली सार्नका लागि सम्बन्धित व्यक्तिले बसाइँ सराइको प्रमाणपत्र पेस गर्नुपर्ने उनले जानकारी दिए । –कान्तिपुरबाट







प्रतिक्रिया