१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

नारायणघाट–बुटवल सडक दाउन्नेबाहेकका क्षेत्रमा सहज



काठमाण्डौ ।

पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक यात्राका लागि सहज बन्दै गएको छ । सडकको एक सय १३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य क्षेत्रमा सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ ।

योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले सडकको विभिन्न ११ ठाउँमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा झन्डै दुई किलोमिटर र पश्चिम खण्डमा झन्डै पाँच किलोमिटरबाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उहाँको भनाइ छ । दाउन्ने खण्डमा पनि धुलो हटाएर बाटो सहज पारिएको छ । अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको छ ।

यही हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्ने आयोजनाको दाबी छ । नारायणघाट–बुटवल खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालले जानकारी दिनुभयो ।

सडक विस्तारको ठेक्का पाएका चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताउनुभयो । छठपछि सडकको विस्तारको काम तीव्र हुने उहाँको भनाइ छ । यसअघि यो सडक पार गर्न ७र८ घण्टा लाग्ने गरेको थियो ।

नारायणघाट–बुटवल सडकमा गाडी चलाउँदै आएका गैँडाकोटका सङ्गम लम्सालले सडक सहज हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन सकिएको बताउनुभयो । एशियाली हाइवेको मापदण्डमा विस्तार भइरहेको यो सडक विस्तारपछी नारायणघाटबाट बुटवलको एक सय १३ किलोमिटर दूरी ९० मिनेटमा छोटिने अपेक्षा छ ।

चार लेनमा विस्तार भइरहेको सडकको बजेट १७ अर्बमध्ये ८५ प्रतिशत रकम एशियाली विकास बैङ्क (एडीबी)ले १.५ प्रतिशत व्याजमा ऋण सहयोग उपलब्ध गराएको छ । २०७९ साउनमा निर्माण सक्नेगरी २०७५ साल माघदेखि सडक विस्तारको काम शुरु भएको थियो । रासस

प्रकाशित मिति : ५ कार्तिक २०८२ बुधबार ००:००  ११ : ४२ बजे