१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुने



काठमाडौँ 

विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा गर्ने भएको छ।

आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिस्पर्धा आइइइइ एक्स्ट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको हो। अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ।

आइइइइ नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाले २४ घण्टासम्म निरन्तर सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीले जटिल कोडिङ समस्या समाधान गर्ने बताए।

उनका अनुसार कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर आइटी सम्बन्धी समस्या निराकरण गर्नेछन्। यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्क कौशल वृद्धि गराउने उनले बताए।

तिमल्सिनाले भने, ‘कम्प्युटर, इन्जिनियरिङ, कम्प्युटर सोसाइटी, कम्प्युटर सिष्टम, आइटीको २४ घण्टे प्रतिस्पर्धा हो, जहाँ केही समयको अन्तरालमा नयाँ एउटा समस्या आउँछ, यो समस्या कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर साइन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर निराकरण गर्नुपर्छ। राम्रो खालको कोड लेख्ने भन्ने कुराको अन्ताराष्ट्रिय प्रतिस्पर्धा हो।’

यस कार्यक्रमले युवा प्रविधि प्रतिभालाई अन्ताराष्ट्रियस्तरमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखेको छ। प्रतियोगिता सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वरमा आयोजना हुनेछ।

प्रकाशित मिति : ८ कार्तिक २०८२ शनिबार ००:००  ६ : ३९ बजे